नेपालमा हालै देखापरेको राजनीतिक–सामाजिक अस्थिरता, बढ्दो भ्रष्टाचार, सुशासनको अभाव, सामाजिक सञ्जाल बन्द जस्ता अस्वस्थकारी अभ्यासहरूका विरुद्धमा नेपालको जेन जि पुस्ताद्वारा सोमबार देशभर शान्तिपूर्ण रूपमा आयोजित विरोध प्रदर्शनमा राज्यसत्ता पक्षबाट भएको हिंसात्मक दमनप्रति गैर आवासीय नेपाली संघ (NRNA) कुवेत घोर निन्दा तथा भर्त्सना गर्दछ ।
लोकतन्त्रको आधारस्तम्भ नै अभिव्यक्ति र विरोध प्रदर्शन गर्ने अधिकार हो। तर शान्तिपूर्ण प्रदर्शनमा सहभागी युवामाथि गरिएको निर्मम दमन लोकतान्त्रिक मूल्य–मान्यता, मानवअधिकार र संविधानले प्रदान गरेका नागरिक स्वतन्त्रतामाथि प्रत्यक्ष आघात भएको हाम्रो ठहर छ ।
यस घटनाका कारण ज्यान गुमाउन पुगेका दर्जनौँ होनहार युवाप्रति हामी गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दै घाइते सम्पूर्ण युवाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
गैर आवासीय नेपाली संघ (NRNA) कुवेत आज युवाद्वारा उठाइएका जायज मागहरूलाई सरकारद्वारा तत्काल सम्बोधन गर्दै, शान्तिपूर्ण प्रदर्शनमा गरिएको दमनप्रति सरकार जिम्मेवार बन्ने छ । र भविष्यमा यस किसिमका घटना नदोहरिने गरी अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको पूर्ण संरक्षण सुनिश्चित गर्नेछ भन्ने प्रतिवद्दताको अपेक्षा गर्दछौं ।
हामी विश्वास गर्दछौं कि सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि सुरक्षित राख्ने गरी लोकतान्त्रिक मूल्य र सुशासनलाई सुदृढ बनाउन तत्काल कदम चाल्नेछ । साथै, यस संवेदनशील परिस्थितिमा सम्पूर्ण पक्षहरूलाई संयमता अपनाउन हार्दिक अनुरोध गर्दछौं ।
भवदीय
प्रेस विज्ञप्ती समिति NRNA-NCC कुवेत
ईमेल: info@nrnakuwait.org
फोन: +965 65142228
विजय धामी
महासचिव
गैरआवासीय नेपाली संघ कुवेत